
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरु तत्काल अघि बढ्ने बताउनुभएको छ ।
काठमाडाैंकाे नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले युस्ताे बताउनुभएकाे हाे । सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रुपमा सोही कामलाई अघि बढाउने उहाँले बताउनुभयाे । मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्शनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहोर्याउनुभएकाे छ।
साेही अवसरमा उहाँले आफूले प्रचलित कानून बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताउनुभयो । सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाइ छ ।
उहाँले भन्नुभयो,-‘अब सुशासनको मामिलामा केही फड्को मार्नुपर्छ । सुशासन दिन नसकेको हुनाले यो भन्दा अगाडि सरकार र जनप्रतिनिधिहरुको म्यान्डेट बीचैमा भंग भयो । त्यसैले सुशासन पहिलो शर्त हो । यो सुशासनलाई हामीले कसरी प्रवद्र्धन गर्ने । थप अझै यसमा हाम्रो प्राथमिकताहरु के हुनुपर्छ तत्काल । र खास गरेर केही राजनीतिक कनेक्शसनको आधारमा सुशासनमा जसरी अवरोध आयो विगतमा । कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, भ्रष्टाचारको विषयहरुमा । जुन खालको अवरोध आईराखेको थियो । त्यो अवरोध अब हामीले फुकाउनु पर्छ भन्ने सन्दर्भमा मेरो त्यो आफ्नो अपेक्षा थियो । त्यो अपेक्षा अनुसारको निर्देशनहरु मैले यहाँ दिएको छु । बाँकी त अब यो कानून बमोजिम हुने कुरा हो । अनुसन्धान गर्ने निकायले आफ्नो व्यवसायिकता प्रदर्शन गरेर कामलाई अगाढि बढाउनुपर्ने हुन्छ प्रचलित कानून बमोजिम । रोकिनुनपर्ने विषयहरु यदि रोकिएका छन भने र, कुनै नयाँ शुरुवात गर्नुपर्ने विषयहरु छन भने त्यसलाई तुरन्त अगाडि बढाउनुपर्छ भन्ने मेरो निर्देशन पनि भएको छ । यहाँ धेरै विषयबस्तुहरु छन् । मैले एउटा विषयवस्तु मात्रै मन्त्रीको हिसाबले निर्देशन दिने अपेक्षा राख्ने गरेर हुँदैन । यहाँ धेरै विषयहरु छन सुशासनका लागि एउटा विषयमा मात्रै ध्यान दिएर हुँदैन । समग्र विषयमा ध्यान दिनुपर्छ । र बीचमा त अव हामीले सहकार्य गर्नका लागि पहिला वस्तुस्थिति बुझ्नुपर्यो । अब कसरी अगाडि बढ्ने भन्ने कुराको पर्याप्त छलफल भएको छ आज । राजनीतिक कनेक्शनको आधारमा जे कुराहरु रोकिएको थियो । जे कुराहरु बिथोलिएको थियो । अब त्यस्तो हुँदैन । किनभने हाम्रो म्यान्डेट नै, यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिदैन नि । त्यसकारण हामीले सुशासन त दिनैपर्छ । हाम्रो म्यान्डेट नै हो ।’
गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्