Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


आगामी कार्तिकभित्र मतदाता नामावली संकलन गरिसक्ने निर्वाचन आयोगकाे याेजना (विज्ञप्तिसहित)


286
Shares

काठमाडाैं । निर्वाचन आयोगले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने भएको छ ।

आयाेगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जनाएकाे हाे । निर्वाचन आयोगको निर्णय अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि योग्य व्यक्तिहरुले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नसक्ने भएका छन् । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावलीमा नाम संकलन गर्न नपाइने कानूनी व्यवस्था भएपनि सरकारले अध्यादेश जारी गरेर मतदाता नामावलीमा नाम संकलन गर्ने बाटो खोलेको बताउनुभयो ।

प्रतिनिधि सभाको विघटन हुनुअघि नै रुपन्देही क्षेत्र नम्बर ३ मा निर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली संकलनको कार्य रोकिएको थियो । यस्तै, फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति घोषणा गरे पछि पनि मतदाता नामावलीमा नाम संकलन गर्ने काम बन्द भएको थियो । उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न योग्य भएका तर मतदाता नामावलीमा नाम नभएर मतदान गर्नबाट वञ्चित नागरिकलाई यसले मतदानको अवसर दिएको बताउनुभयो । स्थगनमा रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया बिहीबारकै मितिबाट शुरु भएको उहाँले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम समावेश छैन भने आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम संकलन गर्न, त्रुटी भए सच्याउन र कोही बसाईंसराई भएको वा मृत्यु भएको बताउदै उहाँले लगत कट्टा गर्न आह्वान गर्नुभएकाे छ । कुन ठाउँबाट मतदान प्रक्रियामा भाग लिन होे त्यही ठाउँमा मतदाताको नामावली कायम गर्न आयोगले आग्रह समेत गरेको छ । अहिले संकलन गरेको मतदाता नमावलीमा संकलित हुने मतदाताहरु फागुन २० गते १८ वर्ष पूरा भएकाले भने फागुन २१ गते बिहान ७ बजेदेखि प्रारम्भ हुने मतदान प्रक्रियामा उहाँहरु सहभागी हुन पाउने भएका छन् ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले २०८२ साल कार्तिक १६ गतेसम्म मतदान गर्न पाउने मतदाताको संख्या पुरुष ९२ लाख ५१ हजार ५ सय ४१ र महिला ८९ लाख १६ हजार ५ सय २ रहेको बताउनुभयो । उहाँका अनुसार अन्य १ सय ८७ जना रहेका छन् । नेपालको कुल मतदाता संख्या कार्तिक १६ गतेसम्मको १ करोड ८१ लाख ६८ हजार २ सय ३० जना रहेकाे र मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य पुनः शुरु भएसँगै यसबाट १० लाखसम्म बढ्नसक्ने अनुमान गरिएकाे छ । बिहीबारदेखि शुरु भएको मतदाता नामावली संकलन कार्य कार्तिक मसान्तसम्म सञ्चालन हुनेछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाता नामावलीमा नाम संकलन गर्न बाँकी रहनुभएका नागरिक र फागुन २० गते १८ वर्ष पुग्ने नागरिकले मतदाता नामावलीमा नाम टिपाउन सक्ने बताउनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा समावेश नभएकाले फागुन २१ गते हुने मतदानमा भाग लिन नपाउने बताउनुभएकाे छ। जेनजी पुस्ताको आन्दोलनसँगै केपी शर्मा ओली नेतृत्वको सरकार पतनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । रुपन्देही ३ को उपनिर्वाचनको मिति तोकिएसँगै गत असारदेखि नै मतदाता नामावलीमा नाम संकलन हुन सकेको थिएन । जसकारण आगामी फागुन २० गतेसम्म १८ वर्ष पुग्नेहरुले पनि मतदान गर्नसक्ने व्यवस्थाका लागि अध्यादेश जारी भइसकेको छ ।

योग्य नेपालीले अब कार्तिक मसान्तसम्म आफ्नो नाम मतदाता नामावलीमा नाम संकलन गर्न सक्ने भएका छन् ।