Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


कांग्रेस-सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिए (विज्ञप्तिसहित)


988
Shares

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य, सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र १० जना सांसद पार्टीमा विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।

उनीहरूले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन र हस्ताक्षर संकलनले पार्टीलाई विभाजनतिर लैजाने बताएका हुन् । ‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने, पार्टीमा एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकोले सबै साथीहरू सचेत र सजग रहन अपील गर्दछौं जारी विज्ञप्तिमा भनिएकाे छ।’

सुदूरपश्चिमबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सुशीला भट्ट र नृपबहादुर वड तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, कांग्रेसको सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थीसहित २३ जना नेताहरुले जारी विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापासहितका प्रदेश सभाका ९ जना सांसद समेत रहेका छन् । हस्ताक्षर गर्नेमा प्राय सभापति शेरबहादुर देउवा निकटका नेताहरू रहेका छन्

विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गर्ने अभियानले पार्टीलाई कमजोर बनाउने उल्लेख गरिएकाे छ । नियमित महाधिवेशनमा सभापति देउवाले अब विधान अनुसार सभापति नलड्ने भनेको कुरा मनन् गर्न जारी विज्ञप्तिमा आग्रह गरिएको छ । विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन अभियान शुरु भएपछि त्यसविरुद्ध सुदूरपश्चिमका नेताहरूले विज्ञप्ति जारी गरेका हुन् ।

कांग्रेसभित्र पार्टीलाई सुधार गर्न विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज व्यापक रुपमा उठिरहेको छ ।