Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पसँग वार्ता गर्न गरेको प्रस्ताव ह्वाइट हाउसद्वारा अस्वीकार


572
Shares

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको प्रस्ताव ह्वाइट हाउसले अस्वीकार गरेको छ ।

राष्ट्रपति मदुरोले साेमबार दुई कट्टर शत्रुबीच तनाव कम गर्नका लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग संवाद प्रस्ताव गर्नुभएकाे हाे ।भेनेजुएलाका दुई प्रमुख विपक्षी नेताहरूले अमेरिकाको नौसैनिक तैनाथीलाई समर्थन गर्दै यसलाई लोकतन्त्र पुनःस्थापनाका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिणी क्यारिबियनमा लागूऔषध विरोधी कारबाहीका लागि आठ युद्धपोत र एउटा पनडुब्बी पठाउनुभएकाे हाे । भेनेजुएलाले यसलाई सम्भावित आक्रमणको संकेतका रूपमा लिएको छ । अमेरिकी सेनाले हालै तीन वटा सन्दिग्ध लागूऔषध डुङ्गा नष्ट गर्दा एक दर्जन भन्दा बढीको मृत्यु भएको हाे ।

भेनेजुएला सरकारले साेमबार भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा राष्ट्रपति मदुरोले लागूऔषध कार्टेलसँग संलग्न भएको अमेरिकी आरोपलाई ‘पूर्णतया झुटो’ भएकाे बताउदै अस्वीकार गर्नुभएकाे थियाे।साथै उहाँले राष्ट्रपति ट्रम्पलाई ‘शान्ति कायम राख्न’ आग्रह गर्नुभयाे ।

तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रमा ‘धेरै झुटहरू’ भएको बताउनुभयाे। उहँले अमेरिकाको नीति परिवर्तन नभएको र भेनेजुएलाका राष्ट्रपति मदुरो शासनलाई अझै ‘अवैध’ मानिएको दावी गर्नुभएकाे छ । यो तैनाथी क्यारिबियन क्षेत्रमा वर्षौंयताकै सबै भन्दा ठूलो हो । भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई शासन परिवर्तन प्रयासको दोषारोप गर्दै यो पहिलो पत्र भए पनि थप पठाउने बताउनुभयाे ।

राष्ट्रपति मदुरोले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा ‘भेनेजुएलाको सत्यको रक्षा’ गर्ने संकल्प व्यक्त गर्नुभएकाे छ ।