
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा ठूलो पहिरो खसेपछि काठमाडौं जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । गएरातिदेखि खस्न सुरु भएको पहिरो मंगलबार बिहान झन् ठूलो मात्रामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।
धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार राति खसेको पहिरोको अधिकांश भाग पन्छाइसकिएको अवस्थामा बिहान साढे ५ बजे माथिबाट पहाडै खस्दा बाटो पूर्ण रूपमा बन्द भएको हो । “कम्तीमा पाँच घण्टाभन्दा बढी समय पहिरो पन्छाउन लाग्ने देखिन्छ,” रिजालले बताए । उनका अनुसार अहिले तीन वटा मेसिन परिचालन गरेर पहिरो पन्छाउने कार्य भइरहेको छ । तर, माथिबाट अझै ठूलो चट्टान खस्ने सम्भावना भएकाले जोखिम यथावत् रहेको बताइएको छ ।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पनि बिहानीपख खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार उक्त सडक खोल्न करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन दुवै सडकखण्ड अवरुद्ध भएपछि काठमाडौं–चितवन मार्ग हुँदै यात्रा गर्ने यात्रुहरु बिचल्लीमा परेका छन् । सडक खुलाउन मेसिन निरन्तर परिचालन गरिए पनि लगातार पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सहज रूपमा सञ्चालन हुने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्