
काठमाडाैं । सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेदारी पाउनुभएको छ ।
करिब २५ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय खरेल नागरिक सरकारको सञ्चारमन्त्री बन्नुभएकाे हाे । यसअघि उहाँ ईमेज टेलिभिजनका समाचार प्रमुख रहनुभएको थियो । ईमेज टेलिभिजनमा ‘हट सिट’ नामक लोकप्रिय कार्यक्रममा खरो प्रश्न सोध्ने सञ्चालक खरेल अहिले आफैं जवाफ दिने ठाउँमा पुग्नुभएको छ । खरेलको जन्म २०३९ सालमा दोलखामा भएको हो । सानैदेखि प्रखर वक्ता खरेलले विद्यालय तहको अध्ययन दोलखाबाटै पूरा गर्नुभएको थियो ।
खरेलले काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधिको विद्यार्थी पनि हुनुहुन्छ । खरेल २०५७ सालदेखि ईमेज एफएफमा आवद्ध भइ समाचार पढ्नेदेखि विभिन्न कार्यक्रम चलाउनुभएकाे थियाे। तीन वर्ष ईमेज एफएममा काम गरेपछि २०५९ सालदेखि उहाँले ईमेज च्यानल टेलिभिजनमा काम गर्न थाल्नुभयो । ईमेज टिभीमा उहाँले रिपोर्टिङ, समाचार तथा कार्यक्रम प्रस्तोता र कार्यक्रम निर्माता हुँदै समाचार प्रमुख बन्न सफल हुनुभयो ।
ईमेज टिभीमा समाचार वाचनसँगै उहाँले चलाउनुभएको कार्यक्रम “ती दिनहरु” त्यस समयमा अत्यन्त रुचाइने क्रार्यक्रममा पर्ने गर्दथ्यो । विभिन्न विधाका वरिष्ठ एवं दिग्गज व्यक्तित्वहरुसंगका संघर्ष, योगदानहरुको संस्मरणात्मका कार्यक्रम अहिले पनि धेरैको सम्झानामै रहेको पाइन्छ । पछिल्लो समय उहाँको कार्यक्रम हट सिट पनि खरो प्रश्नका कारण अत्यन्त रुचाइएको कार्यक्रममा पर्दै आएको छ ।
सुशासनको नारासहित उठेको जेनजी युवाकाे आन्दोनल पछि बनेको नागरिक सरकारमा निडर एवं निर्भिक पत्रकारको छवि बनाउनुभएका खरेल मन्त्रालयको जिम्मेदारी निर्वाहमा पनि जनताको अपेक्षा अनुसार नै खरो उत्रनु हुनेछ भन्ने अपेक्षा गरिएको छ । ईमेज टेलिभिजन परिवारकाे तर्फबाट सञ्चारमन्त्री खरेललाई बधाई एवं सफल कार्यकालकाे हार्दिक शुभकामना छ ।
प्रतिक्रिया दिनुहोस्