
बिराज रोस्यारा
कैलाली । जेनजी युवाको आन्दोलनपछि बन्द भएका कैलालीका सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा पुन: सुचारु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, भन्सार र जिल्ला अदालतसहितका कार्यालयले अत्यावश्यक सेवा दिन थालेसँगै साेही कार्यालयहरुमा चहलपहल पनि बढ्दै गएको हाे ।
कैलालीका सरकारी कार्यालयमा अत्यावश्यक सेवा पुन: सुचारु भएसँगै चहलपहल बढ्न थालेको छ। गत आइतबारदेखि कैलाली भन्सार कार्यालयले ग्यारेजबाट कामकाज सञ्चालन गरेको हाे । भन्सार कार्यालयले ग्यारेजबाट बैंकको काउन्टर र आयात–निर्यातको स्वीकृति लगायतको काम शुरु गरेको जनाएकाे छ।
जेनजी आन्दोलनका क्रममा प्रशासन भवन, कर्मचारी निवास, सवारीसाधन, महत्वपूर्ण फाइल र तथ्यांक लगायतका सामान नष्ट भएता पनि उपलब्ध स्राेत-साधनको प्रयोग गरि सेवा प्रवाह शुरु गरिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले बताउनुभयो ।
कैलाली जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धि निवेदन दर्ता, म्याद थप र जरुरी प्रकृतिका पूर्जीको स्वीकृति तथा पत्राचार अनुमति सम्बन्धि कामहरु सुचारु भएका छन् । यद्यपी मुद्दा दर्ता र नियमित तारिखका मुद्दा सुन्ने तथा अन्य कामहरु भने हाललाई स्थगत गरिएको अदालतका श्रेस्तेदार चेतराज पन्तले बताउनुभयाे ।
जिल्ला प्रशासनले तत्काललाई नागरिकता र अत्यावश्यक सिफारिसका काम थालेको छ । क्षतिग्रस्त कार्यालयहरुमा सरसफाइ गरी सेवा सुचारु गरिएको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयाे । प्रशासनले एउटै कोठाबाट भएपनि अत्यावश्यक सेवा सञ्चालनका लागि मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
आगजनी तथा तोड्फोडबाट क्षतिग्रस्त जिल्लाका अधिकांश कार्यालयले अत्यावश्यक सेवा सञ्चालनलाई प्राथमिकता दिएकाले पनि छिट्टै सेवा प्रवाह चुस्त हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्