
काठमाडौं । नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको बताउनुभएको छ।
प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा बढी बढी भएको समेत बताउनुभएकाे हाे । आफू लगायत नेताकाे घर, निजी सम्पत्ति, उद्योग व्यवसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय भएकाे उहाँकाे भनाइ छ ।
देशभरी भएको तोड्फोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको प्रवक्ता महतले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे हाे । देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस्तो नचाहेको उहाँको भनाइ छ ।
प्रवक्ता डा. महतले अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भएर शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको उल्लेख गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्