Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


ओली सरकारले बजेट विनियोजन गर्दा झापालाई मात्रै नेपाल देख्यो: सांसद तामाङ


455
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो कटाक्ष गर्नुभएको हो । बजेट विनियोजन गर्ने समयमा केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र नेपाल देख्ने गरेको उहाँले टिप्पणी गर्नुभएको छ।

उहाँले कर्णाली क्षेत्रका सडक लगायत भौतिक पूर्वाधारमा पर्याप्त स्रोत नछुट्याएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । कर्णालीको विकास नगरी समृद्ध नेपाल सम्भव नरहेको कुरा उठाउँदै आएको भएता पनि सरकारले सुन्न नचाहेको उहाँको भनाइ छ ।

सांसद तामाङले प्रधानमन्त्री ओलीले कर्णालीको विकासको बारेमा अधूरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्री सदनको बैठकमा नियमित उपस्थित रहनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।