१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


डडेल्धुरा जिप दुर्घटना अपडेट : मृतक र घाइते पहिचान खुल्यो


312
Shares

काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएकाे छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार, उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप आज बिहान करिब सवा ९ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

घटनास्थलमै ज्यान गुमाउनेहरूमा नवदुर्गा गाउँपालिका-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् । मृतकहरूको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा नवदुर्गा-५ कै १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् ।

घाइतेमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । प्रहरीले जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक जानकारी अनुसार, दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन ।