Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजनका लागि कृत्रिम वर्षा


793
Shares

काठमाडौं ।

तिज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा श्रद्धालुको निकै भीड देखिएको छ। दर्शनार्थीलाई गर्मीबाट राहत दिन पशुपति क्षेत्र विकास कोषले यसपटक पहिलोपटक कृत्रिम वर्षाको व्यवस्था गरेको छ।

कोषका अनुसार बिहानैदेखि हजारौं श्रद्धालु मन्दिर दर्शनका लागि लाइनमा उभिएका छन्। केही भक्तजन त बिहान ३ बजेअघि नै लाइनमा बसेका थिए। दर्शन गर्न चाहनेहरूलाई सहज बनाउने उद्देश्यले मन्दिरका चारवटा ढोका बिहान ३ बजेदेखि नै खोलिएको जानकारी कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले दिए।

कोषले मूल मन्दिरको दर्शन प्रक्रिया छिटो र व्यवस्थित होस् भनेर बाहिरी भागबाट लाइन व्यवस्थापन गरेको छ। श्रीयन्त्र पूजाको समयमा पनि बाहिरबाटै दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।

तीजको भिड व्यवस्थापन गर्न करिब ३ हजार सुरक्षाकर्मी खटाइएको छ। कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार, मूल मन्दिर प्रवेश गरी दर्शन गरेपछि भक्तजनलाई सिधा बाहिरिने व्यवस्था मिलाइएको छ।

यसरी कृत्रिम वर्षा र व्यवस्थापनका अन्य उपायमार्फत श्रद्धालुलाई सहज र शीतल वातावरणमा दर्शन गराउने प्रयास गरिएको छ।