
काठमाडौं ।
हरितालिक तिजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भक्तजनको ठूलो भीडलाई व्यवस्थित र सुरक्षित गर्न ६१६ जना ट्राफिक प्रहरी खटाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गरी यो व्यवस्था मिलाएको हो।
प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार, भक्तजनको चाप अनुसार थप ट्राफिक प्रहरी खटाउने तयारी गरिएको छ। पशुपति क्षेत्रमा पूजाआजा तथा दर्शन गर्न आउने श्रद्धालुहरूको सहज आवतजावत सुनिश्चित गर्न ट्राफिक व्यवस्थापन कडा पारिएको छ।
सवारी साधनका लागि पार्किङ स्थानहरू छुट्याइएको छ । तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर, गुहेश्वरी पारी करिडोर सडकमा सामान्य सवारी पार्किङको व्यवस्था गरिएको छ भने, बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स, खानेपानीको ट्यांकर र सुरक्षाकर्मीका सवारी साधन राखिनेछ। सरकारी तथा विशिष्ट सवारी साधनका लागि भण्डारखाल, कोष कार्यालय र अमालकोट कोषमा पार्किङको व्यवस्था मिलाइएको छ।
गौशाला क्षेत्रमा भीड अत्यधिक भएमा मात्र सवारी आवागमन रोक्ने व्यवस्था गरिएको छ। वैकल्पिक मार्गको रूपमा करिडोर तथा भित्री सडक प्रयोग गरिनेछ। चाबहिल, गौशाला, तीलगंगा क्षेत्रमा सवारी सञ्चालन यथावत् रहन दिने तयारी गरिएको छ।
तीनकुने–सिनामंगल, बौद्ध–गौरीघाट, पुरानो बानेश्वर, मित्रपार्क, र गौशाला क्षेत्रमा प्रवेश गर्ने मालबाहक सवारीलाई भने निषेध गरिएको छ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीलाई गुहेश्वरी पारी पार्किङ गरिनेछ।
सवारी चोरी तथा अन्य सम्भावित अपराध नियन्त्रण गर्न सादा पोशाकका ट्राफिक प्रहरी पनि परिचालन गरिएको छ। ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, भक्तजनको सुविधालाई प्राथमिकतामा राख्दै सम्पूर्ण ट्राफिक योजना कार्यान्वयनमा ल्याइएको हो।
प्रतिक्रिया दिनुहोस्