
काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
शीतल निवासमा भएको भेटमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सम्भावनाबारे छलफल भएको छ ।
राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच आर्थिक सहकार्य विस्तारका लागि ठूलो सम्भावना रहेको बताउँदै यसलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको उल्लेख गर्नुभयो । “नेपाल अहिले कृषि, पर्यटन, उत्पादन र जलविद्युत क्षेत्रमा लगानीमार्फत आर्थिक(सामाजिक रूपान्तरणमा केन्द्रित छ,” उहाँको भनाइ उद्धृत गर्दै राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले बौद्ध धर्मले दुई देशका जनताबीच गहिरो सम्बन्धको सेतुको रूपमा काम गरेको र लुम्बिनीलाई भियतनामीहरूले पवित्र तीर्थस्थलका रूपमा हेर्ने गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
भियतनामकी उपराष्ट्रपति सुआनले नेपालको सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र भियतनामको सन् २०४५ सम्म उच्च आय भएको मुलुक बन्ने लक्ष्यलाई जोड्दै सन् २०३० अघि नै दुई देशबीच वृहत सम्बन्धको ढाँचा तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो उहाँले संस्कृति, खेलकुद र पर्यटन क्षेत्रमा सहकार्यको सम्भावनालाई जोड दिनुभयो ।
उपराष्ट्रपति सुआनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति स्थापना र जलवायु परिवर्तनप्रति देखाएको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्