
काठमाडौं । पर्सामा झाडापखालाको लक्षण देखापरेका २ जना बिरामीको मृत्यु भएको छ ।
नारायणी अस्पतालले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको शनिबार मृत्यु भएको जनाएको हो । बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको थियो । त्यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक जना बिरामीको शुक्रबार मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्ने बारेमा जाँच भइनसकेको जनाएको हो । केही दिन यता हैजाका बिरामीहरु देशका विभिन्न जिल्लामा फेला परेका छन् ।
सरकारले पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्