
काठमाडौं ।
दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ ।
भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास रहेकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।
गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक र गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकोले यस ठाउँमा आएर पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वासका कारण भाद्रकृष्ण औँसीमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए ।
गोकर्णेश्वरमा आएका भक्तजनले धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन नहुँदा दुख पाएको बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकीले गाडीको असुविधाले मेलामा दुख पाएको बताए । ‘मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,’ उनले भने ।
मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाइ बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको उनले गुनासो गरे । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारको ध्यान नगएको धेरै भक्तजनले बताए ।
यस क्षेत्रमा वैदिक सनातन हिन्दु धर्मावलम्बी मात्र होइन, बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गीले यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए ।
बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आएर दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास गरेको पनि उनले जानकारी दिए। गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता छ ।
आजैको दिन हिन्दु धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यस्तै आफ्ना बाबुलाई मीठो खाना खुवाई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्