६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


दिगो समृद्धिको आधार दक्ष जनशक्तिः ऊर्जामन्त्री खड्का


156
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताउनुभएको छ ।

संखुवासभामा शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गर्दै प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताउनुभएको छ ।

संखुवासभाको भौगोलिक र पर्यटनको सम्भावनाको बारेमा उल्लेख गर्दै उहाँले त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाले अर्बौँ रुपैयाँ राजस्व दिन सक्ने पर्यटन सम्भावना बोकेको बताउनुभयो। उहाँले यसलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । निकट भविष्यमै संखुवासभामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुन लागेको समेत उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै, सोही कार्यक्रममा सिटिइभिटीका सदस्य–सचिव महेश भट्टराईले ऊर्जा मन्त्रालयको पहलमा तालिम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । तालिम लिएका युवालाई जलविद्युत आयोजनामा इन्टर्नसिपको अवसर दिलाइदिन समेत उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी, खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला बनाउन नियमित रूपमा यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताउनुभएको छ। तालिममा सहभागी युवाले प्राप्त ज्ञानले आफूहरूलाई रोजगारी र उद्यमशीलतामा अघि बढ्न प्रेरणा मिलेको अनुभव समेत उहाँले सुनाउनुभयो ।

सोही तालिम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले सञ्चालन गरेको थियो ।