१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


‘उत्तर कोरिया आफ्नो मुख्य मिसाइल परीक्षण र प्रक्षेपणस्थल बन्द गर्न सहमत’


0
Shares

प्योङयाङ, असोज ३ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् ।

यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः सुरु हुने सम्भावना बढेको छ ।

प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनबीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति तीनदिने भ्रमणकाक्रममा हाल उत्तर कोरियामा छन् ।

‘उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुवै देशका विज्ञहरुको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ’–किमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले बताए ।

उक्त पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सिओलमा पनि गरिएको थियो ।

उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायीरुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ ।

‘तर, त्यसका लागि अमेरिकाले आफ्ना नीतिहरुमा सामयिक पुनरावलोकन गर्नुपर्दछ’–राष्ट्रपति मुनले बताए ।

उनले भने–‘दक्षिण र उत्तर कोरियाले पहिलोपटक आणविक निःशस्त्रीकरणकाबारेमा छलफल गरेका छन् ।’

किमले आफू र मुनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएको बताए ।

‘यो घोषणाले दुबै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्गप्रशस्त गरेको छ र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ’–प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै किमले बताए ।

संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाले प्रतिबद्धता जनाएको छ ।

प्योङयाङको तीनदिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाबीचको अवरुद्ध वार्ता पुनः सुरु गराउन पहल गर्ने बताएका थिए ।

संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले भने–‘उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पुनः सुरु हुने मैले विश्वास लिएको छु ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दैै अन्तर–कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले लेखेका छन्–‘किम जोङ उनले आणविक सुपरीवेक्षणका लागि अनुमति दिन सहमति जनाउनुभएको छ र अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा एउटा आणविक परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रहार केन्द्र सधैंका लागि बन्द गर्न राजी हुनुभएको छ ।’

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियासँग रहेका आणविक हातहतियारको सूची उपलब्ध गराउन र आणविक केन्द्रहरुको निरीक्षण गर्न माग गर्दैआएको छ ।

तर, उत्तर कोरियाले अमेरिकी मागलाई अस्वीकार गरिरहेको छ । यही कारण दुवै देशबीचको वार्ता केही समयदेखि अवरुद्ध छ ।

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकारले भने हाल दुवै मुलुकबीच भएको सहमतिले अमेरिका र उत्तर कोरियाबीच वार्ताको ढोका खेल्ने विश्वास व्यक्त गरे ।

दुवै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरुलाई अझ फराकिलो बनाउने सहमति पनि भएको छ ।

राष्ट्रपति मुन बिहीबार स्वदेश फर्कनेछन् । रासस/योन्हाप