२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


कैलाली कारागार घटना: छानविन गर्न समिति गठन


312
Shares

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको हिंसात्मक झडपको छानबिन गर्न समिति गठन गरिएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसैका आधारमा दोषीमाथि कानुनी कारबाही गरिने र अन्य आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे । समितिमा घटनाको विवरण प्रस्तुत गर्दै गृहमन्त्री लेखकले भने, ‘कैलाली कारागारमा पुरुषतर्फ ‘ब्लक ए’ र ‘ब्लक बी’ मा गरी ६४३ जना र महिलातर्फ ४७ जना गरी ७०० जना बन्दी छन् । साउन २२ गते राति ‘ब्लक ए’ का कैदीबन्दीहरूले दुई ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ‘ब्लक बी’ मा पुगेर त्यहाँका बन्दीहरूलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको छ ।’

उक्त झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको उनले बताए । घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई काठमाडौं ल्याइएको छ, जसमध्ये दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएका चार जनालाई अन्य सुरक्षित कारागारमा सारिएको छ भने बाँकी ४१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक बन्दीको शव भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइसकिएको छ ।

गृहमन्त्री लेखकले कारागारमा बन्दीहरूबीच आन्तरिक द्वन्द्वको सूचना पहिले नै आएकाले प्रशासनले केही कदम चालिसकेको पनि खुलासा गरे । उनका अनुसार, घटना हुनुअघि नै द्वन्द्वरत समूहका १७ जना नाइकेलाई अन्यत्र सरुवा गर्ने, दुई पटक विशेष खानतलासी लिने र प्रमुख जिल्ला अधिकारीले निरीक्षण गरी शान्ति सुरक्षाका लागि सम्झाउने जस्ता कार्य गरिएको थियो ।

अहिले कारागारको स्थिति सामान्य रहेको, सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको र आगामी दिनमा यस्ता दुःखद घटना हुन नदिने कुराको प्रत्याभूति गरिएको उनले बताए ।