Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठ


4.2k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठ नै कायम रहने भएको छ।

काठमाडौंमा हालै सम्पन्न नाउपाको राष्ट्रिय भेलाले साउन १५ गते लालवीर चौधरीलाई अध्यक्ष चयन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो। तर, आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानको आधारमा रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन। चौधरी २०७९ मंसिरमा बर्दियाबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मात्र नाउपामा प्रवेश गरेका थिए।

लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बाबु हुन् भने रञ्जिता रेशमकी श्रीमती हुन्। यसअघि रेशमले पत्नीलाई अध्यक्ष पदबाट हटाई बाबुलाई अध्यक्ष बनाएका थिए तर निर्वाचन आयोगले मान्यता दिएको थिएन।

नाउपाले २०८० सालमा पहिलो महाधिवेशन गरेर रेशम चौधरीलाई अध्यक्ष बनाएको थियो। तर, आयोगले त्यसपटक पनि मान्यता नदिई रञ्जितालाई नै अध्यक्षमा कायम राखेको थियो।