२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडक निर्माणको काम सुरु


312
Shares

काठमाडौं ।

रसुवामा असार १४ गते बुधबार बिहान भोटेकोशीमा आएको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेंसी–रसुवागढी सडकको निर्माण तथा मर्मतको काम सुरु गरिएको छ ।

बाढीले ठाउँठाउँमा सडक कटान गरी बगाएपछि अवरुद्ध भएको सडकको काम टिमुरे तर्फबाट सुरु गरिएको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनले जनाएको छ ।

आयोजनाका इन्जिनियर रुपनारायण पौडेलेका अनुसार अहिले प्रारम्भिक चरणमा टिमुरेको दुई स्थानका सडक निर्माण सम्पन्न गरी तातोपानीतर्फ काम भइरहेको उनले बताए । १८ स्थानमा सडक बिग्रिएको भए पनि १३ स्थानमा करिब एक किलोमिटर सडक भने निर्माण तथा मर्मत गर्नुपर्ने उनले बताएका छन् । करिब दश दिनमा निर्माण तथा मर्मतको काम सम्पन्न गरी सडक दुईतर्फी सञ्चालनमा ल्याइने इन्जिनियर पौडेलको भनाई छ ।

रसुवागढी देखि स्याफ्रुबेसी सम्मको १६ किलोमिटर सडकमा घट्टेखोल, टिमुरेको तातोपानी, कल्याङकुलुङ लिङलिङ लगायतका १८ स्थानमा बाढीले सडक कटान गरी क्षति पुर्‍याएको छ । यसैगरी असार २४ गते मंगलबार आएको बाढीले पनि १० स्थानमा करिब १३ सय मिटर सडक बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म लामो समय आवतजावत ठप्प भएको थियो ।

साउन ४ गतेदेखि एकतर्फी रूपमा खुलेको उक्त सडक पुनः साउन १४ गते आएको बाढीले कटान गरेपछि अवरुद्ध भएको छ ।