२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


एमालेसँग एकताको कुनै सम्भावना छैन : अध्यक्ष नेपाल


429
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की भनेर भ्रम नपाल्न आग्रह गर्नुभयो । उहाँले कम्युनिष्टहरु बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले बिग्रिएकाहरुले आफूले गरेको गल्तीको महशुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको बताउनुभयो । आफूहरु कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भुमिका महत्वपूर्ण रहने बताउनुभयो ।