३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


वर्षौंदेखि खेलकुदका बेरुजु फछ्र्यौटको काम गरिरहेको छु : घिसिङ


403
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले कयौं वर्षदेखि खेलकुदमा रहेको बेरुजु फछ्र्यौटका लागि प्रयास भइरहेको बताएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेल संघ र महासंघसँगको अन्तक्रिया कार्यक्रमको अवसरमा राखेपका सदस्यसचिव घिसिङले आफू राखेपको सदस्यसचिवको कार्यभार समाल्दै गर्दा नेपाली खेलकुदमा तीन अरब ६८ करोड बेरुजु रहेको बताएका हुन् ।

खेलकुदमा वर्षौदेखि यति धेरै बेरुजु हुनु दुःखलाग्दो विषय रहेको र त्यसलाई कसरी फर्छौट गर्न सकिन्छ भन्ने काममा लागि रहेको घिसिङको भनाइ छ । त्यो अर्कै पदाधिकारीले बेरुजु गरेको हो भनेर पन्छिन नहुने ठानेर अविच्छिन्न उत्तरदायीत्वका रूपमा आफूले काम गरेको उनी बताउँछन् ।

राखेपका सदस्यसचिव घिसिङले एउटा संघले एक करोड ४२ लाख र अर्को एउटा संघले ३० लाखभन्दा माथि बेरुजु राख्नु सही नभएको बताएका छन् । नीतिगत रूपमा ती बेरुजु हुन नदिन संघहरू पनि लाग्नुपर्ने उनको भनाइ छ । साथै आफू पनि लागिरहेको उनी बताउँछन् । लामो समयदेखि नेपाली खेलकुद विकासमा खेल संघको भूमिका रहँदै आएको र त्यसलाई थप सशक्त ढंगले अगाडि बढाउन राखेप सदैप तयार हुने उनको विश्वास छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले व्यक्तिगत सपनाले मात्र खेलकुद विकास सम्भव नभएको र ऐनकानुन अनुरूप अगाडि बढ्नुपर्ने बताए । मन्त्री चौधरीले खेलकुद विकासका लागि आवश्यक बजेट नहुँदा र बहुउद्देश्यीय योजना नहुँदा आवश्यक मात्रामा खेलकुद अगाडि बढ्न नसकेको धारणा राखे ।

उक्त कार्यक्रममा राखेपमा दर्ता भएका र मान्यता प्राप्त खेलकुद संघका पदाधिकारीहरू उपस्थित थिए । संघका पदाधिकारीहरूले आ-आफ्ना समस्याबारे उक्त अन्तक्रियामा राखेका थिए ।