
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न रुपन्देही-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि अगामी आइतबारको सचिवालयबाट टुंग्याउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँले उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने प्रस्तावमाथि व्यापक छलफल भएको बताउनुभयो ।
बैठकमा प्राप्त सुझावका आधारमा उम्मेदवार छनोट कार्यविधि टुंग्याइने महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग कायमै राख्ने निर्णय पनि गरेको छ । उहाँले बैठकले छानबिन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान पुनः दोहो¥याएको बताउनुभयो ।
बैठकले संसदको राज्य व्यवस्था समितिबाट पारित संघिय निजामती सेवा विधेयकसम्बन्धी प्रक्रियामा भएको हेरफेरलाई बदमासीपूर्ण र संसदको सार्वभौमिकतामाथि गम्भीर प्रहार भएको टिप्पणी पनि गरेको छ । पार्टीले विधेयकको कुलिङ अफ पिरियडमा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै सो प्रक्रियामा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्