
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कानूनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरु सक्रिय रहेको बताउनुभएको हो ।
गृहमन्त्री लेखकले सबै सुरक्षा निकाय न्युनतम स्रोत साधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताउनुभयो । लेखकले अगामी आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका ४० करोड रुपैयाँ विनियोजन गरिएको समेत बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि बढाएको उहाँको भनाइ छ ।
गृहमन्त्री लेखकले प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरु छलफलका क्रममा रहेको उल्लेख गर्दै ती विधेयकहरु पास भइसकेपछि सुरक्षा निकायहरुलाई थप व्यवस्थित गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्