
एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गरेको भीषण बमबारीबाट सयौं प्यालेस्टेनी परिवार विस्थापित भएका छन् ।
इजरायलले गरेको बमबारीपछि उद्धारकर्ताहरुले पाँच वटा शव फेला पारेको र दर्जनौं घाइतेहरुलाई अल अहिली अस्पतालमा लगेको जनाइएको छ ।
इजरायलले सामूहिक रुपमा शहर छाड्न दिएको उर्दीपछि भीषण बमबारी गरेको हो । गाजाका अति जनघनत्व भएका सुजैया, तुफाह र जैतुन जस्ता क्षेत्रमा इजरायली फौजले बमबारी गरेको हो । रातभरी गरिएको बमबारीबाट आकाश समेत बारुदको धुवाँले भरिएको पनि सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएका छन् ।
पश्चिमी गाजाको अल साती शिविरमा पाँच वटा शव फेला परेको उद्धारकर्ताहरुले बताएका छन् । इजरायली सेनाले गाजाका वासिन्दालाई दक्षिणी क्षेत्रतर्फ जान उर्दी दिए पनि उनीहरु भने पश्चिमतर्फ भागेको समाचारमा जनाइएको छ ।
सवथोक छाडेर भाग्नुको विकल्प आफूहरुसंग नभएको विस्थापितहरुले बताएका छन् । इजरायलमाथि युद्धविरामका लागि दबाव बढ्दै जाँदा इजरायली फौजले गाजामा आक्रमण झन् बढाएको हो । इजरायलले गाजालाई पूर्ण रुपमा नियन्त्रणमा लिने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्