९ असार २०८२, सोमबार | Tue Jun 24 2025


नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने सांसद चौधरीको जोड


312
Shares

काठमाडौं । नेकपा एमाले सांसद भगवती चौधरीले नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सोमबारको अर्थ समितिमा आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उहाँले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताउनुभयो ।

सांसद चौधरीले अवैधानिक रुपमा व्यापार व्यवसाय गर्नेहरुमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले डायमण्डमा लगाइएको विलाशिता कर हटाउनुपर्ने बताउनुभयो ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद जुलीकुमारी महतोले नेपालमा महंगी बढ्नु र कर बढी लगाउँदा नेपालको बजार सुकिरहेको बताउनुभयो । उहाँले सिंहदरबारबाट हेरेर सबैकुरा नदेखिने भन्दै सम्बन्धित स्थानमा नै गएर निरीक्षण गर्न जरुरी रहेको बताउनु भयो निजी क्षेत्र, उद्योगी व्यवसायीहरुले उपभोक्तालाई मारमा नपार्ने गरी कानून निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।

सांसद महतोले कच्चा पदार्थमा ६ प्रतिशत कर हुनुपर्नेमा १० प्रतिशत र बनेको सामग्रीमा १० प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत कर रहेको भन्दै यो उल्टो प्रक्रिया भएको जिकिर गर्नुभयो । यसले युवाहरुलाई विदेश जाउ, देशमा नबस भनेको स्पष्ट हुने बताउनुभयो ।