
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संकटबाट बचाउन सबै राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । उहाँले देशलाई अग्रगामी निकास कुनैपनि विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा नपरेको आरोप लगाउनुभयो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले देशलाई समृद्धिको दिशामा लैजान क्रमभंग हुने गरी कुनै विषय नसमेटिएको बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता यथास्थितिवादको निरन्तरता भएको उहाँको भनाइ छ । उहाँले देश वृद्ध नेपाल दुःखी नेपालको दिशामा गइरहेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले वर्तमान शासन प्रणाली दलाल र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने खालको भएको बताउनुभयो । उहाँले वर्तमान व्यवस्थामा विधिको शासन नभएको बताउनुभयो । भ्रष्टाचारमा नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही गर्न वर्तमान सरकारले नसकेको उहाँको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेका निर्वाचन प्रणाली महँगो र भ्रष्टिकृत भएकाले निर्वाचना प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने बताउनुभयो । उहाँले निर्वाचन प्रणालीभन्दा बाहिरबाट मन्त्री नियुक्त गर्नुपर्ने र सांसदहरु कानून निर्माणमा मात्रै सहभागी बन्ने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले सूचना प्रविधिको विकासले देखा परेका नयाँ सम्भावनालाई प्रयोग गर्नका लागि शिक्षा दशक घोषणा गरी शिक्षामा गुणात्मक लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्