३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


विनियोजन विधेयकले राष्ट्रिय यथार्थ समेट्न सकेन : सांसद केसी


299
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय यथार्थ झल्किन नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद केसीले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताकमा समेटिएको नदेखिएको बताउनुभयो । विनियोजन विधेयकमार्फत सरकारले सबैलाई खुशी बनाउने प्रयास गरेको तर कोही पनि खुशी नदेखिएको सांसद केसीको भनाइ छ ।

सांसद केसीले मुलुकको अर्थतन्त्र लगातार शिथिल बन्दै गएको भन्दै सरकार गम्भिर हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले यस्तो परिस्थितिमा बजेट तर्जुमा प्रक्रिया चुनौतिपूर्ण र अपजसपूर्ण हुने उल्लेख गर्दै ऋण र कुल गार्हस्थ्य उत्पादनबीच सन्तुलन कायम गर्न नसकिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सामान्य प्रशासन धान्न र ऋणको ब्याज तिर्नको लागि ऋण लिने गरिएको उल्लेख गर्दै यसतर्फ गम्भिर भएर सोच्न समेत अर्थमन्त्रीसँग आग्रह गर्नुभयो ।