Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


चीनले पनि बढायो अमेरिकी सामानमा कर


0
Shares

काठमाडौं । अमेरिकाले २ सय अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर वृद्धि गरेकोे बदलामा चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको छ ।

चीनले आगामी हप्तादेखि नै कर बढाउने घोषणा गरेको हो । अमेरिकाले झन्डै पाँचदेखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब ५ हजार २ सय अमेरिकी सामानमा सोमबारदेखि नै लागु हुने गरी कर बढाएको थियो ।

अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गएमा चीनले यथोचित प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णय कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले स्पष्ट पारेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ कर वृद्धिको घोषणा गरे यसविरुद्ध नयाँ उपायकोखोजी गरी आफ्नो कानुनी अधिकार र चाहनालाई प्रत्याभूति गरिने बताउनुभएको छ ।

विश्वका यी दुई शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ । जसका कारण दुवै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो ।

बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो ।

अमेरिकाले चीनबाट बार्षिक करिब पाँच सय अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।(एजेन्सी)

Skip This