
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंको लाजिम्पाटमा लेमिनार टायलसको सोरुम उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गर्नुभएको हो । उहाँले पूर्वाधार विकास गर्दा, बिल्डिङ्स, अस्पताल, होटल, रेष्टुरेण्ट बनाउँदा र निजी घरहरु बनाउँदा नेपालमै उत्पादित भेरिफाइड टायलको प्रयोग गर्न आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले लेमिनार टायल नेपालको बर्दियामा बन्ने गरेको र यो नेपाली उत्पादन भएकाले गुणस्तरीय रहेको बताउनुभयो । सार्वजनिक स्थलहरुमा यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो । यसले नेपालको अर्थतन्त्र अघि बढाउन मद्दत पुग्ने उहाँको विश्वास छ ।
कार्यक्रममा लुम्बिनी सेरामेक्सका प्रतिनिधि सुव्रत धितालले लेमिनार टायलले कम पानी सोस्ने बताउनुभयो । टायलले जति थोरै पानी सोस्छ त्यत्ति नै धेरै राम्रो मानिने बतउनुभयो । गुणस्तरको हिसावले नेपालमा नम्बर वान रहेको उहाँको भनाइ छ । सबै किसिमको सर्फेसलाई कभर गर्ने गरेर टायलहरु उत्पादन गरी नेपाली बजारमा ल्याएको उहाँको दाबी छ ।
सबै किसिमको सर्फेसलाई कभर गर्ने गरेर उत्पादन गरिएका टायलहरु अहिलेसम्म भारत लगायत अन्य देशहरुबाट आउने गरेकोमा अब नेपालमै उत्पादन भएको टायल प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्