
क्वालालम्पुर, असोज २ । मलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ ।
उक्त घटनामा ३३ जना बिरामी परेका छन् ।
मृतकसहित बिरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलांगर राज्यको प्रहरी प्रमुख मजलान मानसोरले बताए ।
सेलांगर मलेसियाको राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य हो ।
प्रहरीकाअनुसार मृतक तथा बिरामी सबैले सोमबार दुईथरिका ह्वीस्की र एकथरि बियरको सेवन गरेका बताइएको छ ।
मदिरा सेवन गरी मृत्यु भएका पहिलो व्यक्ति एउटा फ्याक्ट्रीमा काम गर्ने श्रमिक थिए भने मंगलबार पनि एकजनाको मृत्यु भएको मलेसियाको ‘बेर्नामा’ न्यूज एजेन्सीले जनाएको छ ।
सोमबार मृत्यु हुने सातजनामध्ये एक मलेसियाली, चार नेपाली, एक भारतीय र एकजना बंगलादेशी नागरिक रहेका मजलानले बताए ।
थप नागरिकको परिचय नखुलाइकनै प्रायः विदेशी नागरिक रहेको उनले बताए ।
प्रहरी प्रमुखद्वारा हस्ताक्षर गरिएको एक वक्तव्यमा भनिएको छ–‘मृत्युको कारण अझै आधिकारिकरूपमा पुष्टि भइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा सबैजनाले मदिरा सेवन गरेपछि अस्पताल भर्ना गरेको पाइएको छ ।’
स्थानीय सन्चारमाध्यमकाअनुसार प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका मदिराका खोलहरू लगेको छ ।
उनीहरूले मदिरा किनेको भनिएको पसलबाट पनि प्रहरीले केही नमुना लगेको बताइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्