Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह


949
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र सुशासन” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो सुझाव दिनुभएको हो ।

मुख्यमन्त्री सिंहले भ्रष्टाचार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको बताउनुभयो । राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मानिसको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलाशी जीवनशैली जिउनुले नै भ्रष्टाचार प्रश्रय पाइरहेको मुख्यमन्त्री सिंहको भनाई थियो । त्यस्ता व्यक्तिमाथि कडा कारवाही गर्नका लागि सुझाव दिनुभयो ।

मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलब वृद्धि गरेर भ्रष्टार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दाबी पनि गर्नुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गर्नुभयो ।