
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ ।
यस्तै झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफलका साथै चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझावमा उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी स्पन्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
यस्तै बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्य योजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरि महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूलप्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिकाबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्