३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी


91
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दावी गर्नुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।

संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको अध्यक्ष केसीको भनाइ थियो ।

अध्यक्ष केसीले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गर्नुभयो । उहाँले संघीयताको सुदृढिकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताउनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको छ । संघीयताले मुलुकमाथि अनावश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ । नेपालले संघीयताको सुदृढिकरणको नाममा अमेरिकी परियोजना यूएसएडबाट आर्थिक सहयोग लिएर संघीयताको कार्यान्वयनको नाममा विश्व बैंकबाट ऋण काँढेर कति दिन हामीले संघीयताको भारी नेपाली जनतालाई बोकाउने हो ?’

अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताउनुभयो ।