१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


एमालेले समाजलाई सचेत ढंगले अघि बढाउन छुट्टै भोलेन्टियर संस्था बनाउँछ : ओली


169
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गर्नुभएको छ ।

समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाइ थियो ।

एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो । आइतवार पार्टी मुख्यालय च्यासलमा उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताउनुभयो । उहाँले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म तपाइँहरुको प्रशंसा गर्न चाहन्छु । तपाईहरुलाई सम्मान गर्न चाहन्छु । तपाईहरुले भोलेन्टियरको ढंगले उत्कृष्ट काम गर्नु भएको छ । स्पेसल्ली महिला छोरीहरुले, बहिनीहरुले गर्नु भएको होला । तपाइँहरुको प्रशंसा गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु । तपाइँहरुको काम अत्यन्तै उत्कृष्ट छन् । पार्टीले पनि महिला भोलेन्टियर्सहरु समेतको नेशनल नेटवर्क बनाउने बारेमा पनि सोच्दैछौं । र यो पुरुषको पनि बन्छ, महिलाहरुको पनि बन्छ ।’

अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको पनि स्मरण गराउनुभयो ।