Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


मधेश प्रदेशमा लगानी सम्मेलन गर्ने मुख्यमन्त्री सिंहको घोषणा


533
Shares

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले यस्तो घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले शहीद तथा घाइते परिवारहरुका लागि प्रतिष्ठानबाट ठोस निर्णय गरेर अघि बढ्ने बताउनुभयो । उहाँले मधेश प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने पनि घोषणा गर्नुभयो ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने, मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैंकका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने पनि बताउनुभयो ।

मुख्यमन्त्री सिंहले मधेशमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेशमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गर्ने घोषणा गर्नुभयो । उहाँले मधेशको खेल क्षेत्रलाई गतिशिल बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने बताउनुभयो ।