२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


आगामी आर्थिक वर्षमा बजेटको सिलिङ नबढाए नयाँ काम गर्न सकिँदैन : सचिव शर्मा


325
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडी बढाउन सकिने बताउनुभएको हो ।

सचिव शर्माले बजेटको सिलिङ नबढेमा कुनै नयाँ काम अगाडि बढाउन नसकिने भएकाले सरकारको नीति तथा कार्यक्रममा पनि केही नलेखे हुने बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताउनुभयो । उहाँले नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको बताउनुभयो ।

सचिव शर्माले १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरुलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने बताउनुभयो । उहाँले यति नै बजेटको सिलिङ भएमा पुराना काम मात्रै सक्नेगरी अगाडी बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । अन्यथा बजेटको आकार बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदहरुले माग गरे अनुरुपको सडक तथा पुलहरु निर्माण गर्न नसकिएको बताउनुभयो ।

सचिव शर्माले चालु आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको बताउनुभयो । उहाँले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताउनुभयो ।