
दुर्गा उपाध्याय/ईमेज:
कञ्चनपुर । निर्मला पन्तको बलात्कारपश्चात हत्या भएको ५० दिनसम्म पनि दोषिको पहिचान हुन सकेको छैन ।
प्रहरीले सो घटनामा प्रमुख अभियुक्त दाबी गरेका दिलिपसिंह विष्टको डीएनए रिपोर्ट नमिले पछि उनी मंगलबार रिहा भएका छन् ।
पन्तको हत्यामा संलग्न भएको आशंका गरिएका बम दिदीबहिनीको पनि घटनामा संलग्नताको कुनै प्रमाण नभेटिएपछि वास्तविक हत्यारा को होला ? भन्ने सबैको आमचासोको विषय बनेको छ ।
दिलिपसिंह विष्ट र बम दिदीबहिनी रिहा भएसँगै यतिबेला सबैको ध्यान प्रहरीको आगामी अनुसन्धानतर्फ केन्द्रीत भएको छ ।
घटनाको ५० दिनसम्म दोषी पत्ता नलाग्नु र आशंका गरिएका व्यक्तिको पनि संलग्नता नभेटिएपछि प्रहरीको आगामी अनुसन्धान कता मोडिन्छ भन्नेमा सबैको चासोको केन्द्रीत भएको छ ।
कतिपयले घटनामा प्रहरीकै उच्चपदस्थ व्यक्तिको संलग्नता हुनसक्नेभन्दै अहिलेपनि प्रहरीको अनुसन्धानमाथि ढुक्क हुन सकेका छैनन् ।
उनीहरुले डीएनए परीक्षण प्रहरीको प्रयोगशालामा नगरी अन्य प्रयोगशालामा गर्नुपर्ने बताएका छन् ।
कमजोर स्थिति र मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई जबरजस्ती अपराध स्वीकार गर्न दवाव दिएको घटना बाहिरिएसँगै प्रहरीको अनुसन्धान खोक्रो सावित भएको छ । उसो त, प्रहरीको व्यवहारप्रति सुरुदेखि नै धेरैले आशंका गरेका थिए ।
वास्तविक हत्यारा जोगाउन दिलिपलाई फसाउन खोजिएको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको व्यवहारले पनि घटना र अनुसन्धान थप शंकामा परेको हो ।
तत्कालिन प्रहरी नेतृत्वले घटनालाई दवाउन खोजेको आक्षेप लागेपछि अब अनुसन्धान पनि उनीहरुबाटै सुरु हुनुपर्ने स्थानीयको माग छ ।
यता, घटनामा नाम जोडिएका र शंकास्पद व्यक्तिको डिएनए परिक्षणका लागि सरकारी वकिलको कार्यालयले प्रहरीलाई मौखिक निर्देशन दिइसकेको छ ।
निर्मलाको शवबाट संकलन गरिएको नमुना (भेजाइनल स्वाब) मा पुरुषको शुक्रकिट फेला परेपछि त्यसकै डिएन प्रोफाइलको आधारमा प्रहरीले पनि अनुसन्धानलाई दुई तरिकाले अगाडी बढाएको छ ।
घटनाका थुपै्र प्रमाणहरु नष्ट भइसकको अवस्थामा डिएनए रिपोर्टको आधारमा अनुसन्धान अगाडी बढाउन केहि सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतको भनाइ छ ।
प्रहरीले शकांस्पद व्यक्तिका बारेमा अनुसन्धान थालेको भन्दै ६० प्रतिशत भन्दाबढी प्रमाण भेटिए डिएनए परिक्षण गरिने बताएको छ ।
यस्तै, घटनामा नाम जोडिएका व्यक्तिहरुको डिएनए परिक्षणपछि अनुसन्धानलाई अगाडी बढाउँदैछ ।
तर, स्थानीयले भने शंकास्पद व्यक्तिहरुको तत्काल डिएनए परिक्षण नगरिए आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने चेतावनी दिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्