काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने बताउनु भएको छ ।
आइतबार साँझ बालुवाटारमा गोरखा जिल्लाका गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँग प्रधानमन्त्री दाहालले निर्वाचनका बेला गरिएका प्रतिवद्धता पूरा हुने बताउनु भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएका थिए । उनीहरुले छलफलमा प्रधानमन्त्रीसँग गाउँपालिकाको तर्फबाट विषयवस्तु उठान गरेका थिए भने प्रधानमन्त्री दाहालले उक्त विषयवस्तुप्रति आफ्नो धारणा राख्नु भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराउनुभएको थियो ।
यसैगरि प्रधानमन्त्री दाहालले गोरखा नगरपालिका–१३ स्थित देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराउनुभएको जनप्रतिनिधिहरुले बताएका छन् ।
जनप्रतिनिधिसँग प्रधानमन्त्री दाहालले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०÷०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत गर्नुभएको जनाइएको छ ।
प्रधानमन्त्री दाहललाई भेट्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर उपप्रमुख लिला परियारसहित भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका र सहिद लखन गाउँपालिकाका जनप्रतिनिधिहरु बालुवाटार पुगेका हुन् ।







प्रतिक्रिया दिनुहोस्