
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताउनुभएको छ ।
मंगलवार शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आजको दिन महान शहीदहरुको स्मरण गर्नुका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरुले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘जहाँनिया राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं.१९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा हामीले प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रुपमा मनाउँदै आएका छाँै । यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान शहीदहरुप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता भएका योद्धाहरुप्रति उच्च सम्मान र स्मरण गर्दछु । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान शहीदहरुले उच्च बलिदान गर्नुभएको छ ।’
कार्यक्रममा प्रधानमन्त्री दाहालले शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो । कार्यक्रममा मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको थियो । यसअघि शहीदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरीले नगरको परिक्रमा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्