Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


वाणिज्य बैंक जस्तै लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक : खेम पाठक


195
Shares

काठमाडौं । लघुवित्त र सहकारीमा पनि मर्ज आवश्यक भइसकेको सञ्चालकले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले मर्जरको आवश्यकतामा जोड दिनुभएको हो । उहाँले सहकारी वा लघुवित्त संस्था धेरै भन्दा पनि गुणस्तरीय र स्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

३५ हजार बढी पुगेको सहकारी संख्या अहिले केही मर्ज भएर ३० हजारमा आएका छन् । अध्यक्ष पाठकले ३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रो रहेको बताउनु भयो । उहाँले बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्योल रहेको बताउनु भयो ।

बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्र मार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको पनि अध्यक्ष पाठकको विश्लेषण छ । अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा आउँदैनन् । सरकारले तत्काल बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

अध्यक्ष पाठकले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तहरुले कर्जा प्रवाहमा देखिएको समस्या न्यूनीकरण हुनसक्ने बताउनु भयो ।