
काठमाडौं, भदौ २७ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानबिन गर्न सरकारद्वारा गठिन उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले दिएको राजीनामा फिर्ता भएको छ ।
केसीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूले दिएको राजीनामा फिर्ता गरेको र समितिमै बसेर छानबिनमा सहयोग गर्ने बताएका हुन् ।
उनले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरी राजीनामा फिर्ता लिएको जानकारी दिए ।
यसअघि, उनले समितिमा रहेर आफूले निर्मलालाई न्याय दिन नसक्ने भन्दै सोमबार राजीनामा दिएका थिए ।
अपराधीको पर्दाफास गर्ने आश्वासन
यसैबीच, निर्मला पन्तका बाबु यज्ञराज पन्तले उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले गत साता नै आफूहरुलाई भेटेर आफूहरु अपराधीको नजिक पुगिसकेको भन्दै ३/४ दिनभित्र अपराधीको पर्दाफास गर्ने आश्वासन दिएको बताएका छन् ।
न्याय खोज्दै काठमाडौं आइपुगेका पन्त दम्पतीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।
तर, केसीले आश्वासन दिनेक्रममा तलमाथि नभए अपराधीको पर्दाफास गर्ने बताएको पनि पन्तले जानकारी दिए ।
पन्त दम्पती मंगलबार ९ जना अधिकारकर्मीसहित काठमाडौं आएका हुन् ।
उनीहरुले पत्रकार सम्मेलनमा कन्चनपुरमा भइरहेको छानबिनप्रति आफूहरुलाई विश्वास नरहेको पनि बताएका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलगायतलाई भेटेर न्याय खोज्न उनीहरु काठमाडौं आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्