Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


एनसेल प्रकरणमा प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति ओलीको आपत्ति


1.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले संसदको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताउनुभएको थियो ।

आइतवार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उहाँले राज्यको खर्बौं सम्पती नोक्सान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो ।

सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो । उहाँले व्यक्तिको फाइदाका लागि राज्यको सम्पती डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले डेडिकेटेड लाइनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत काट्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

मुलुकमा उद्योगी, व्यवसायीहरु मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाइन लिएका तर विद्युत खपत नगरेका उद्योगीहरुको पनि विद्युत लाइन काट्ने काम गर्न नहुने उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले संवादको माध्यमबाट डेडिकेटेड लाइन लिएका उद्योगीहरुको समस्या समाधान गर्न सरकारलाई सुझाव दिँदै तथ्य र प्रमाणको आधारमा मात्रै डेडिकेटेड लाइन लिएका उद्योगीहरुबाट विद्युत महशुल लिन पनि सरकारलाई सचेत गराउनु भयो ।