
धनकुटा, भदौ २७ । धनकुटा नगरपालिकाले चुलिवन पार्कभित्र भ्यू टावर निर्माण गर्ने भएको छ ।
पर्यटक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ७३ लाख रुपैयाँको लागतमा ५ तले भ्यूटावर निर्माण गर्न लागिएको हो । अघिल्लो आर्थिक वर्षमा ४३ लाख रुपैयाँ खर्च गरेर भ्यू टावर निर्माणको काम सुरु गरेको नगरपालिकाले यो वर्ष रङरोगन र फिनिसिङका लागि ३० लाख रुपैयाँ छुट्याएको छ ।
प्रत्येक तलामा पर्यटकले दृष्यावलोकन गर्न सक्ने गरी निर्माण गर्न लागिएको नगरपालिकाका इन्जिनियर मिङ्मा शेर्पाले जानकारी दिए ।
भूकम्प प्रतिरोधी यो टावरमा एक पटकमा ६० पर्यटकले दृष्यावलोकन गर्न सक्नेछन् । यहाँबाट धनकुटाको विभिन्न स्थानसहित छिमेकी जिल्ला, कुम्भकर्ण हिमाल, तमोर नदी आदिको दृष्यावलोकन गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्