१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


एनएसएल फुटबलमा आज दुई खेल हुँदै


533
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । शनिबार वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज र पोखराबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् ।

आज वीरगञ्ज दोस्रो जितको खोजीमा रहँदा पोखरा तेस्रो जित निकाल्ने योजनामा छ । यसअघिका खेलमा वीरगञ्ज एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अङ्कका साथ सातौँ स्थानमा छ ।

यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा पराजित हुँदै ८ अङ्क जोडेको पोखरा चौथो स्थानमा छ । यसैगरी आज साँझ ५ बजे हुने अर्को खेलमा चितवन र इलामबीच प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्मका खेलको नतिजालाई हेर्दा अन्तिमका यी दुई टोलीबीच प्रतिष्ठाको लडाइँ मात्र हुने देखिन्छ । अहिलेसम्म समान ६ खेल खेलेको चितवन ५ अङ्कका साथ आठौँ स्थानमा रहँदा ४ अङ्क भएको इलाम पुछारमा छ ।

यस्तै, शीर्षस्थानमा रहेको धनगढीको ११ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको ललितपुरको १० अङ्क छ । मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।