Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


साइबर सुरक्षा सम्बन्धी कानून बनाउँदै छौं : सञ्चारमन्त्री शर्मा


65
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानून बनाउन लागेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानूनी र संरचनागत व्यवस्था गर्न जुटिरहेको बताउनुभएको हो ।

उहाँले सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति अनुरुपको आवश्यक कानूनहरु, सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक, साइबर सुरक्षा, डाटा संरक्षण लगायतका विभिन्न कानुनहरु बनाउन लागिएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले नेपाल–भारत सिमानामा साइबर अपराधका घटना बढ्न नदिन दुवै देशका बीचमा आवश्यक समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि दुई देशबिच साझेदारी पनि आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि १ करोड ३१ लाख ५० हजार नागरिकको विवरण डिजिटाइजेशन गरिसकेको जानकारी गराउनु भयो । त्यस्तै, ९ हजार ६ सय डिजिटल हस्ताक्षर वितरण गरिएको पनि उहाँले बताउनुभयो । कागजरहित सरकारको विकास गर्नका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले भारत सरकारले डिजिटल पूर्वाधारको क्षेत्रमा गरेको कामको नेपाल सरकारले अनुशरण गरेर त्यसबाट लाभ लिनुपर्ने बताउनुभयो । त्यस्तै, नेपालमा सूचना, प्रविधिको उच्च प्रयोग र डिजिटल पूर्वाधार निर्माणको क्षेत्रमा भारतसँग पनि साझेदारी आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले नेपालमा प्रयोग हुने इन्टरनेट ब्यान्डविथको अधिकांस हिस्सा भारतबाटै आउने गरेको भन्दै यसलाई थप सहज र सस्तो मूल्यमा प्राप्त गर्नसके नेपालका सबै ठाउँमा र सबै नागरिकले प्रयोग गर्नसक्ने गरी इन्टरनेट सेवा बिस्तार गर्न सकिने बताउनुभयो ।