
काठमाडौं । चितवन र आसपासका क्षेत्रमा बेला बेलामा आतंक मच्चाउँदै आएको जंगली हात्ती ‘ध्रुबे’ को शरीरमा तेस्रो पटक स्याटलाइट कलर जडान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै आज ध्रुबेलाई डार्ट हानेर बेहोस बनाएर घाँटीमा स्याटलाइट कलर जोडिएको हो ।
ध्रुबेबाट हुने आक्रमणबाट क्षति कम गर्नका लागि उसको दाह्रा समेत काटेर जंगलमा छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । । माडी र जगतपुर क्षेत्रका वस्तीमा पसेर आतंक मच्याउन थालेपछि निकै आक्रमक र चलाख ध्रुबेलाई निगरानीमा राखिएको थियो ।
स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कहाँ छ भनेर थाहा पाउन सकिने र बस्तीतिर आए तत्काल नियन्त्रण गर्न सकिने निकुञ्जले जनाएको छ । ध्रुबेले अहिलेसम्म २२ जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।
निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र हात्तीसार लगायतको टोलीले नियन्त्रणमा लिएका थिए । चितवन निकुञ्जमा ध्रुबे, रोनाल्डो, गोबिन्दे र मकुना नामका जंगली भाले हात्ती लगायत करिब ५० वटा जंगली हात्ती रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्