
काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन, कानून, नीतिलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवद्र्धन समिति गठन गर्नुपर्ने माग गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सो समितिको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने मागसमेत गर्नुभयो । उहाँले नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समावेश गर्नुपर्ने बताउनुभयो ।
भट्टराईले हालसम्म नेपालमा भौतिक विकास, मानवअधिकार, सुशासन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवाललाई मानव अधिकार र विकासको दृष्टिकोणबाट समेट्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा मानव अधिकारका दस्ताबेजलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार पूर्णरुपमा आत्मसाथ गरी आफ्ना नीति र कार्यक्रममा अपाङ्गताको सवाललाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जालकी कार्यक्रम संयोजक रेष्मा श्रेष्ठले अपाङ्गमैत्री सार्वजनिक शौचालय बनाउन आवश्यकरहेको बताउनुभयो ।
उहाँले दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुको अवाज पुर्याउन सबैले पहलकदमी लिनुपर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्