Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन दिँदैन : अध्यक्ष ओली


299
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिनुभएको छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते काठमाडौंमा हुन गईरहेको प्रर्दशनप्रति संकेत गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउनेहरुलाई एमालेले तह लगाउने समेत बताउनुभयो । पार्टीको जनसंगठन संयन्त्रले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडकासाथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरु कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले देशलाई अपm्ठ्यारोबाट मुक्त गराउनेगरी सरकारलाई सच्याउनका लागि आफूहरुले पनि मंसीर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको बताउनुभयो । उहाँले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरुलाई निर्देशन दिनुभयो । ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरुले सो प्रदर्शनीको आह्वान गरेको बताउनुभयो ।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाउनु पनि लगाउनुभयो । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो । उहाँले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताउनुभयो ।

संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाई थियो । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।