काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदबहाली गर्नुभएको छ ।
काठमाडौंमा भएको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीसहित पदाधिकारीले संघको केन्द्रीय कार्यालयमा पदबहाली गर्नुभएको हो ।
अध्यक्ष पदका उमेदवारद्वय महेश कुमार श्रेष्ठ र आर के शर्माले भने केसीको पद बहालीलाई अवैध भनेका छन् । आफैलाई अध्यक्ष घोषणा गरी शपथ लिने काम अवैध भएको उनीहरुको दावी छ । ललितपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उमेदवार महेश कुमार श्रेष्ठले तीनजना अध्यक्षहरुबीच भएको सहमति केसीले उल्लंघन गरेको आरोप पनि लगाउनुभयो ।
निर्वाचनमा भएका अनियमतिताको छानबिन गर्न प्राविधिक विज्ञ रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रबार भएको सहमतिको मसी सुक्न नपाउँदै केसीले हिजो हतार हतार शपथ लिएको उहाँले बताउनुभयो । केसीले एकपक्षीय रुपमा शपथ लिएपछि निवर्तमान अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन् । उनीहरुले निर्वाचनसम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधानविपरीत भएकाले त्यो मान्य नहुने बताए ।
विवाद बढ्दै गएपछि एनआरएनए राजनीतिक आस्थाको आधारमा तीन टुक्रा हुने संभावना बढ्दै गएको छ ।









प्रतिक्रिया दिनुहोस्